कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकियो,यस्ता छन् निर्णय

काठमाडौं,जेठ ८। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।

 

आज  बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकालेकाे छ। त्यसको रक्षाका लागि कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने समेत निर्णय गरेको छ।

 

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बसेको थियो । कांग्रेसले अब अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्ने जनाएकाे छ ।

 

 

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको निष्कर्ष रहेकाे  छ। कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।