एमालेले सुदूरपश्चिमका यी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं,जेठ १३ । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

 

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ।

 

 

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।

 

 

उनीहरू तीनैजना खनाल–नेपाल समूहका हुन् ।उनीहरूलाई केन्द्रको निर्णय अवज्ञा गरेको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

 

 

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर उक्त निर्णयको उलंघन गर्दै संसदीय दलको बैठकले समर्थन निरन्तरता दिने निर्णय गरेको थियो ।