दर्शन:माक्र्सवादी दर्शनको ऐतिहासिक कार्यभारका सन्दर्भमा

जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।

– कार्ल माक्र्स , माक्र्स र एंगेल्स , संकलित रचनाहरु , भाग ३ , पृष्ठ १८७ ।

 

 

कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ फेब्रुअरी २१ दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गरियो । उक्त कम्युनिस्ट घोषणापत्रमा समेटिएका सम्पूर्ण वैज्ञानिक विचारहरुलाई समग्रमा माक्र्सवाद भनिन्छ ।

 

 

जस्तो कम्युनिस्ट घोषणापत्रमा :

(१) पुँजीजीवी र सर्वहारा

(२) सर्वहारा र कम्युनिस्ट

(३) समाजवादी र साम्यवादी साहित्य

(४) विभिन्न विरोधी पार्टीहरुसित कम्युनिस्टहरूको सम्बन्ध ।

– माक्र्स – एंगेल्स , कम्युनिस्ट पार्टीको घोषणापत्र , प्रगति पुस्तक सदन बागबजार , काठमाडौं , २०६४ साउन ।

 

माक्र्सवाद सर्वहारावर्ग र सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिको सिध्दान्त हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो ।

 

 

यश दर्शनको सिध्दान्त भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्वदृष्टिकोण हो ।

 

 

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्टालिनले “ माक्र्सवादी – लेनिनवादी पार्टीको विश्वदृष्टिकोण “ को रुपमा परिभाषित गर्नुभएको छ – स्टालिन , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ।

 

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यसले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ ।

 

यस दर्शनको पध्दति द्वन्द्ववाद हो । दर्शनको फाँटमा एंगेल्सले द्वन्द्ववादका तीन नियम ः अर्थात् विपरीतहरुको एकता र संघर्षको नियम , मात्राको गुण , गुणको मात्रामा रुपान्तरणको नियम र निषेधको निषेधको नियमको नियमकाबारेमा उल्लेख गर्नुभएको छ ।

 

माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना , उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ ।

माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिध्दान्त र अतिरिक्त मूल्यको सिध्दान्तमा आधारित रहेको छ ।

 

माक्र्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।

 

 

विश्व कम्युनिस्ट आन्दोलनमा विद्यमान अवसरवाद र अराजकतावादका विरुद्ध भीषण वैचारिक संघर्ष गरेर माक्र्स र एंगेल्सले माक्र्सवादको प्रतिपादन गर्नुभएको हो ।

 

 

माक्र्स – एंगेल्सद्वरा माक्र्सवादको प्रतिपादन भए पछि विश्व मानव जातिको बीचको दार्शनिक फाँटमा क्रान्ति भएको थियो र सारा संसारभरका प्रतिक्रियावादीहरु आतंकित भएका थिए । यसै विषयलाई लिएर कम्युनिस्ट घोषणापत्रको शुरुमै माक्र्सले लेख्नुभएको छ।

 

 
“ युरोपमा एउटा हाउ घुमफिर गरिरहेको छ – साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप र जार , मेटर्निख र गीजो , फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात् पुरानो युरोपका सारा सत्ताधारीहरु एक जुट भएका छन् ।

 

कुन यस्तो विरोधी पार्टी छ जसलाई सत्ताधारीहरुले कम्युनिस्ट भनी बद्नाम नगरेको होस् ? कुन यस्तो विरोधी पार्टी छ जसले आफूभन्दा धेरै प्रगतिशील विरोधी पार्टीहरुलाई र आफ्ना प्रतिक्रियावादी विरोधीहरुलाई समेत कम्युनिस्ट भएको घृणित आरोप नलगाइएको होस् ? “ – माक्र्स – एंगेल्स , कम्युनिस्ट पार्टीको घोषणापत्र , प्रगति पुस्तक सदन , बागबजार , काठमाडौं , २९६४ साउन ।

 

अतः माक्र्सवाद मूख्यतः सर्वहारावर्ग र सम्पूर्ण उत्पीडित जनसमुदायको मुक्तिको सिध्दान्त र पथप्रदर्शक सिध्दान्त हो ।

 

 

माथि पनि उल्लेख गरिएको छ , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन यसै सिध्दान्तको एक प्रमुख अंग हो ।

 

 

त्यसो भएर माक्र्सले आफ्नो “ कानुन सम्बन्धि हेगेलको दर्शनको आलोचनामा एक देन “ शीर्षकको लेखको प्रस्थापनामा लेख्नु भएको छ , – “ जसरी दर्शनले सर्वहारावर्गले आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । “ – माक्र्स र एंगेल्स , संकलित ,चनाहरु , भाग ३ , पृष्ठ १८७ ।

 

माक्र्सको दर्शनलाई कुनै देश विशेषको सन्दर्भमा मात्र नभई सार्वभौम अर्थमा ग्रहण गर्नुपर्ने हुन्छ । दर्शन वास्तविक अर्थमा क्रान्तिको एक भौतिक हतियार नै हो ।

 

 

यहाँ माक्र्सले सर्वहारावर्ग र क्रान्तिकारी दर्शनका बीच द्वन्द्वात्मक एकरुपता देखाउने काम गर्नुभएको छ । तसर्थ दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार देख्दछ ।

 

 

यसको अर्थ हो क्रान्तिकारी दर्शन क्रान्तिकारी वर्गसंग सम्बन्धित रहेको कुरा माक्र्सले दर्शाउनु भएको छ । त्यसैगरी यहाँ माक्र्सले सर्वहारावर्गले दर्शनमा बौद्धिक हतियारको दर्शन गर्ने कुरा प्रस्तुत गर्नुभएको छ ।

 

 

यसको वास्तविक अर्थ हो – यसप्रकारको क्रान्तिकारी दर्शन सर्वहारावर्गको मुक्तिको प्रश्नसंग अभिन्न रुपमा गाँसिएको कुरालाई माक्र्सले दर्शाउनु भएको छ ।

 

 

माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरूले दृढताकासाथ अबलम्बन गर्नु पर्छ ।

 

 

 

दर्शनको यो बौद्धिक हतियारलाई भुत्ते बनाउनका लागि सबैखाले तथा विभिन्न रंगरोगनका संशोधनवादी तथा प्रतिक्रियावादीहरुबाट निरन्तर असफल प्रयास हुदै आएको छ र भविष्यमा पनि हुने कुरा निश्चित छ । यस प्रति सबै क्रान्तिकारीहरु सतर्क रहन जरुरी छ ।

 

 

दर्शनलाई जनताकोबीचमा पुर्याउने प्रश्न :

क्रान्तिकारी दर्शन अर्थात् माक्र्सवादी दर्शन जनताको दर्शन हो । मालेमावादी दर्शन जनताको दर्शन होइन । जनताको दर्शनलाई जनताकै बीचमा पुर्याउन जरुरी हुन्छ ।

 

 

यसै विषयलाई महत्व दिदै कमरेड माओले भन्नुभएको छ ,–“ दर्शनलाई प्रबचनकक्षबाट मुक्त गर , दर्शनलाई जनताको हातमा पुर्याऊ “ ।

 

माक्र्सवादी दर्शनलाई जनताको बीचमा पुर्याउनु पर्ने आवश्यकतामाथि जोड दिदै कमरेड माओले पुनः अगाडि लेख्नु हुन्छ। 

 

माक्र्सवादको सैध्दान्तिक आधारको रुपमा रहेका द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अध्ययन गर्ने दशौ लाख मानिसहरुका यस्ता डफ्फाहरुको निर्माण गर्ने योजना तयार पार्नैपर्छ र तिनलाई सबैखालका आदर्शवाद र यान्त्रिक भौतिकवाद विरुद्ध जुध्नमा तयार गराउनु पर्छ ।“ – माओ त्सेतुङ , संकलित रचना संग्रह , भाग ५ , पृष्ठ १२३ ,विश्व नेपाली पुस्तक सदन बागबजार , काठमाडौं , २०६३ ।

 

 

हो, यहाँ कमरेड माओले दर्शनलाई व्यवस्थित र योजनाबध्द ढंगले जनताको बीचमा पुर्याउनुपर्ने , जनताकै बीचमा दर्शनलाई भिज्न र फैलाउनु पर्ने , जनताकै बीचमा जरा गाड्न लगाउनु पर्ने आवश्यकतामाथि विशेष जोड दिनु भएको छ ।

 

 

कमरेड माओका यी भनाइलाई र लेखाइलाई सबै क्रान्तिकारी कम्युनिस्टहरूले आत्मसात गर्न जरुरी हुन्छ ।माक्र्सवादी दर्शन एक वैज्ञानिक तथा क्रान्तिकारी दर्शन हो ।

 

 

माक्र्सवादी दर्शन सबैखाले आदर्शवाद ,अधिभूतवाद तथा यान्त्रिक भौतिकवादका विरुद्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित रहेको छ ।

 

 

साथै विज्ञान हुनुको नाताले माक्र्सवादी दर्शनले प्रयोगको माग गर्दछ । र माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको वैज्ञानिक दर्शन भएकोले यो दर्शन वर्गीय पक्षधरतामा आधारित रहेको छ र यस दर्शनले सर्वहारावर्गको मुक्तिको पथप्रदर्शन र सर्वहारावर्ग तथा आम जनसमुदायको सेवा गर्दछ ।

 

 

माक्र्सवादी दर्शन सर्वहारावर्ग र आम जनसमुदायको पक्षधर रहेको र तिनकै सेवा गर्ने भएकोले विश्व सर्वहारावर्ग तथा आम जनसमुदायले माक्र्सवादी दर्शनलाई गंभीरताकासात आत्मसात गर्न जरुरी हुन्छ ।

 

 

यहाँ एउटा के बुझाई छ भने माक्र्सवादी दर्शनको अध्ययन कुनै विद्वानहरु , कम्युनिस्ट पार्टीका नेताहरु र कार्यकर्तनहरुले मात्र गर्नुपर्छ भन्ने रहेको पाइन्छ ।

 

 

यो बुझाई गलत छ । माक्र्सवादी दर्शनको अध्ययन सिंगो जनसमुदाय र मानव समुदायको विशाल हिस्साले गर्न जरुरी हुन्छ र गर्नुपर्छ ।

 

 

अनि मात्र सिंगो दार्शनिक फाँटमा विद्यमान सबैखाले गलत चिन्तन र प्रवृत्तिहरुमाथि विजय प्राप्त गर्दै क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सकिन्छ र लक्ष्य हासिल गर्न सकिन्छ । कमरेड माओले जो माथि भन्नुभएको छ , उक्त भनाइहरुको असली र वैज्ञानिक सार यही नै हो ।

माक्र्सवादको ऐतिहासिक कार्यभारको सवाल

माक्र्सवादको कार्यभार अत्यन्तै उच्च रहेको छ । ऐतिहासिक रहेको छ । आज माक्र्सवादले पहिलो चरणमा माक्र्सवादको विकास गरेको छ ।

 

साथै आज माक्र्सवादको गुणात्मक विकासको चरणमा लेनिनवादको विकास भएको छ । त्यस्तै आज माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको नयाँ र तेस्रो चरणमा माओवादको विकास भइसकेको छ र यसको विकासको गति निरन्तर अगाडि बढ्ने क्रममै छ ।

 

सबैखाले अवसरवाद र आदर्शवाद तथा अधिभूतवादका विरुद्धको संघर्ष गरेर माक्र्सवादको लेनिनवाद र माक्र्सवाद – लेनिनवादको माओवादमा विकास भएको हो ।

 

 

सर्वहारावर्गको विश्वदृष्टिकोणका रुपमा रहेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका निश्चित , विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार रहेका छन् ।

 

जस्तो किः

(१) वर्गसंघर्ष सहित सिंगो सामाजिक क्रान्तिका समस्याहरुको अध्ययन र समाधानको सवालमा माक्र्सवादको ऐतिहासिक कार्यभार रहेको छ ।

 

यश सवालमा समाजमा विद्यमान जनसमुदाय र दुश्मन वर्गबीचका अन्तर्विरोधहरुलाई ठिकसंग बुझ्ने र तिनको वैज्ञानिक ढंगले समाधान गर्ने सवाल नै प्रमुख सवाल हो ।

 

यो प्रश्न जनवादी , समाजवादी तथा सिंगो समाजिक क्रान्ति सम्पन्न गर्ने कामसंग सम्बन्धित रहेको छ । उदाहरणका रुपमा सन १९२७ मा सम्पन्न महान् रुसी अक्टोबर समाजवादी क्रान्ति , सन १९४९ मा सम्पन्न महान् चिनियाँ नयाँ जनवादी क्रान्ति लगायत भियतनाम , कोरिया , कम्वोडिया , क्युवा समेतका जनक्रान्तिहरुलाई लिन सकिन्छ ।

 

 

साथै भावी विश्व सर्वहारा क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म मानव समुदाय पुग्ने बेलासम्म माक्र्सवादले आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्नुपर्नेछ ।

 

(२) दुई लाइन संघर्षलाई बुझ्ने र त्यसको समाधान गर्ने प्रश्नमा पनि माक्र्सवादले आफ्नो ऐतिहासिक कार्यभार पुरा गर्दै आएको छ ।

 

खासगरी यो प्रश्न कम्युनिस्ट पार्टी भित्रको दुई लाइन संघर्ष , पार्टी भित्र चल्ने विचारधारात्मक अन्तः संघर्षलाई ठिकसंग बुझ्ने र त्यसको समाधान गर्ने प्रश्न प्रमुख प्रश्न हो ।

 

 

यो प्रश्न कम्युनिस्ट पार्टीलाई नयाँ ढंगको क्रान्तिकारी पार्टी बनाउँदै त्यसको नेतृत्वमा सामाजिक क्रान्तिलाई सचेत तथा प्रभावकारी ढंगले अगाडि बढाउने प्रश्न हो ।

 

उदाहरणका रुपमा रुसमा लेनिनको नेतृत्वमा सञ्चालन गरिएको सोभियत कम्युनिस्ट पार्टी ( बोल्सभिक र माओको नेतृत्वमा सञ्चालन भएको चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी भित्र पैदा भएका वैचारिक अन्तर्विरोधहरुलाई ठिकसंग पहिचाहन गरेर माक्र्सवादी ढंगले समाधान गरेर सामाजिक क्रान्तिकारीहरु सम्पन्न गरिएका थिए ।

 

 

बाहेक अन्तर्राष्ट्रियस्तरमा कम्युनिस्ट आन्दोलन भित्रका कम्युनिस्ट पार्टीहरुले पनि यही पध्दति र विधिहरुलाई अप्नाएर पार्टीलाई नयाँ ढंगले क्रान्तिकारी बनाएर जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरेका धेरै उदाहरणहरु छन् ।

 

(३) दर्शनलाई जनतामा पुर्याबउने र जनतामा विद्यमान सिर्जनात्मक उर्जाको उध्घाटन गर्ने सवालमा माक्र्सवादले आफ्नो ऐतिहासिक कार्यभार पूरा गर्दै आएको छ ।

 

 

यो सवाल जनतालाई प्रशिक्षण तुल्याउने सवालसंग सम्बन्धित रहेको छ । यसमा मुख्य प्रश्न के हो भने प्रायःजसो कम्युनिस्ट पार्टी भित्र नेता तथा कार्यकर्ताहरुले मात्र पढ्ने , उनीहरूलाई मात्र प्रशिक्षित तुल्याउने भन्ने भ्रम व्याप्त रहेको छ ।

 

 

यो ज्यादै कम्जोर पक्ष्य हो ।माथि पनि उल्लेख गरिएको छ , दर्शनलाई जनतामा पुर्यनउने सवालमा कमरेड माओले व्यवस्थित रुपमा बताउनु भएको छ ।

 

 

रुस , चीन जस्ता देशहरूमा छिटै प्रतिक्रान्तिलाई रोक्न नसक्नुमा जनतालाई कम्युनिस्ट पार्टीले सचेत र प्रशिक्षत तुल्याउने काममा कमि आउनुलाई पनि एउटा कारण मानिएको छ ।

 

क्रान्ति पूर्व र क्रान्ति पश्चात् सिंगो जनसमुदायलाई सहभागीता गराएर सामाजिक क्रान्ति सम्पन्न गर्ने र समाजवादको निर्माण र परिचालनमा सिंगो जनसमुदायलाई परिचालन गर्ने कार्यमा माक्र्सवादले आफ्नो ऐतिहासिक कार्यभार बहन गर्दै आएको छ र भावी क्रान्तिहरुमा पनि माक्र्सवादले यस प्रकारको ऐतिहासिक कार्यभार अदा गर्ने प्रश्न अत्यन्तै महत्वपूर्ण प्रश्न हो ।

 

 

ध यसका साथै क्रान्ति सम्पन्न गर्ने र जनताका समग्र उत्पादनमूलक सामाजिक कार्य तथा चिन्तनमूलक गतिविधिहरुलाई योजनाबध्द रुपले संगठित तुल्याउँदै अगाडि बढ्ने प्रश्न ज्यादै महत्वपूर्ण प्रश्न हो । यो नै माक्र्सवादको ऐतिहासिक कार्यभारको ज्वलन्त उदाहरण पनि हो ।

 

 

(४) प्रकृति विज्ञान र सामाजिक विज्ञानका विविध क्षेत्रहरुमा गरिने अध्ययन र अनुसन्धानका कामहरूमा माक्र्सवादी दर्शनको विधिलाई सही ढंगले प्रयोग गर्ने र त्यसका आधारमा विज्ञानसम्मत निष्कर्ष नियमसंग प्रश्न माक्र्सवादको ऐतिहासिक कार्यभारको एक महत्वपुर्ण प्रश्न हो ।

 

एउटा महत्वपूर्ण सवाल के हो भने आज समाजशास्त्र , मानविकी र संस्कृति सहित ज्ञान – विज्ञानका विविध क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अध्ययन विधिलाई लत्याउदै अधिभूतवादी तथा आदर्श वादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गरि अवैज्ञानिक निष्कर्षमा पुग्ने प्रक्रिया तीब्ररुपमा बढ्दै गएको छ ।

 

 

नवमाक्सवादी , उत्तर आधुनिकतावादी तथा विविध रुप र रंगका अवसरवादीहरुले यसलाई बढाउने र मानव समुदायमा भ्रम सृजना गर्ने कामलाई बढाई रहेका छन् ।

 

सच्चा माक्र्सवादीहरुले यस प्रकारको अध्ययन विधिको सशक्त रुपमा विरोध र द्वन्द्वात्मक तथा भौतिकवादको विधिलाई दृढताका साथ अवलम्बन गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सच्चा क्रान्तिकारी माक्र्सवादीहरुले यो काममा महत्वपूर्ण योगदान गर्दै आएका छन्।

 

(५) यहाँ एउटा महत्त्वपूर्ण प्रश्न के हो भने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तु र प्रक्रियालाई स्थिर वा शाश्वत मान्दैन र तिनलाई गति , विकास र परिवर्तनको अवस्थामा हेर्दछ ।

 

 

यसले जीवनशील र मरणशील , नवीन र पुरातन तथा उत्पीडित र उत्पीडक शक्ति एवम् वर्गका बीचको अन्तर्विरोधलाई सजीव रुपमा प्रस्तुत गर्दै समाजविकासको ऐतिहासिक दिशालाई राम्रोसँग ठम्याउने गर्दछ र यो प्रक्रियामा सामन्तवाद , पुँजीवाद एवम् साम्राज्यवाद सहित सबैखाले प्रतिक्रियावाद तथा उत्पीडक वर्ग विनास एवं पराजय र उत्पीडित जनसमुदायसहित सर्वहारावर्ग , समाजवाद एवं साम्यवाद विकास एवं विजयको दिशालाई अगाडि बढाइरहेका छन् भन्ने कुरालाई राम्रोसँग दर्शाउँछ ।

 

 

माक्र्सवादी दर्शन क्रान्तिकारी र आलोचनात्मक हुनुको साथ साथै वैज्ञानिक र क्रान्तिकारी एवं आशावादी समेत रहेको छ।

 

 

आम मुक्तिकामी विश्व जनसमुदायको मुक्तिको आशा र भरोसाको केन्द्र बनेको छ । किनकि मानव समुदायको मुक्ति सिध्दान्त माक्र्सवाद भन्दा अर्को क्रान्तिकारी सिध्दान्त छैन र हुन पनि सक्तैन ।

 

(६) माक्र्सवाद सिंगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्नसंग अन्तर्सम्बन्धित रहेको छ । सिंगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्न छ , यो प्रश्न प्रकृतिजगत , मानवसमाज र चिन्तनको क्षेत्रमा विद्यमान अन्तर्विरोधहरुलाई ठिकसंग बुझ्ने र तिनलाई सिंगो मानव जातिको हित अनुकूल प्रश्न हो ।

 

 

यो प्रश्नलाई क्रान्तिकारी माक्र्सवादीहरुले आत्मसात गर्न जरुरी हुन्छ ।क्रान्तिकारी माक्र्सवादीहरुले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका माथि उल्लेखित कार्यभारहरुलाई राम्रोसंग आत्मसात गरी सिंगो विश्व र आफैलाई बदल्दै अगाडि बढ्ने महान् ऐतिहासिक अभियानमा संलग्न बन्नुको विकल्प छैन ।

 

 

क्रान्तिकारीहरु सर्वहारावर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानवजातिकै सुन्दर , सुसंगत , तथा उदात्त प्रकारको निर्माण गर्न चाहनेहरुले माक्र्सवादको ऐतिहासिक कार्यभार र दायित्वबाट आशावादी भइरहन आवश्यक छ ।

 

 

यो वैज्ञानिक तथ्य हो कि नयाँ संसार विलकुल सम्भव छ । क्रान्तिकारीहरुले दृढताका साथ आशा गर्न अति आवश्यक छ कि नयाँ संसार भनेको साम्यवाद नै हो ।

 

 

साम्यवाद सम्पूर्ण मानव समुदायको वास्तविक नौलो संसार हो । यही संसार निर्माण गर्नका लागि सैध्दान्तिक पथप्रदर्शन र मार्गदर्शनको ऐतिहासिक आवश्यकता पुर्ति गर्ने उद्श्येले मार्ल माक्र्स र फ्रेडरि एंगेल्लले कठोरतम मिहिनेतका साथ माक्र्सवादको प्रतिपादन गर्नु भएको थियोे, जुन दर्शन आज विश्व सर्वहारावर्ग र समस्त मानव समुदायको हातमा छ ।

(लेखक अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।