पूर्व माओवादीहरुको होइन,सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुबीचको एकता आवश्यक: अध्यक्ष गजुरेल

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा ‘भर्चुअल मिडिया अन्तक्र्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

 

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नारायण पंगेनीले गर्नुभएको थियो ।

 

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीस लगायत नेताहरुको समेत उपस्थिति रहेको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेका थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि गजुरेलले सुरुमै समसामियक राजनीतिक परिस्थितिका बारेमा महत्वपूर्ण विचार राख्नुुभएको थियो । उहाँले व्यक्त गरेका विचारहरुलाई यहाँ उपशीर्षक राखेर प्रस्तुत गरिएको छ :

‘पुँजीवादी मिडियाहरुले कम्युनिस्ट क्रान्तिकारीहरुका समाचार दिंदैनन’

नेपालका आफूलाई मूलधारका मिडिया हौं भन्नेहरुले कम्युनिस्ट क्रान्तिकारीहरुका समाचारहरुलाई स्थान दिंदैनन् भन्ने विचार व्यक्त गर्दै अध्यक्ष गजुरेलले क्रान्तिकारीहरुले आफ्नै जनपक्षीय मिडिया नेटवर्कको विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

 

आफूहरुले राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका हक अधिकार र जनजीविकाका सवालहरुमा निरन्तर रुपमा आवाज उठाउँदै आएको र सडकमा उत्रिएर नै विरोधका कार्यक्रम गर्दै आएको भए पनि नेपालका ठूला भनिएका मिडियाहरुले सो सम्बन्धी समाचारहरु नदिने गरेको तथ्यको खुलासा गर्नुभयो ।

 

 

कार्यक्रममा ती मिडियाहरुका बिट हेर्ने पत्रकारहरुको उपस्थिति रहने गरेको भएपनि सम्बन्धित मिडियाहरुले समाचार नदिने गरेको खुलाउनु भयो ।

 

 

ठूला भनिने कर्पोरेट मिडियाहरुले अहिलेको संसदीय व्यवस्थाको विकल्पमा अग्रगामी मुद्दा बोक्ने क्रान्तिकारी शक्तिहरुका विचार र समाचारहरुलाई एक हिसाबले निषेध नै गर्ने गरेको पनि दाबी गर्नुभयो ।

 

पुँजीवादी र साम्राज्यवादीहरुले मिडिया र पत्रकारहरुलाई ‘हतियार’को रुपमा प्रयोग गर्ने गरेको प्रशंग उल्लेख गर्दै उहाँले सर्वहारा श्रमजीवी वर्गले पनि आफ्नो वर्गको हितका निम्ति जनपक्षीय मिडियाहरुलाई सुदृढ तुल्याएर आफ्नो विचार र समाचारहरुलाई आम जनतामा पु-याउनुपर्ने विचार प्रस्तुत गर्नुभयो।

 

‘पूर्व माओवादीहरुको होइन, सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुबीचको एकता आवश्यक’

 

अध्यक्ष गजुरेलले पूर्व माओवादीहरुबीचको एकताको बारेमा अहिले खुबै हल्ला फिजाइएको चर्चा गर्दै अहिले पूर्व माओवादीहरुबीचको होइन सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुबीचमा एकता आवश्यक रहेकोमा जोड दिनु भयो ।

 

 

उहाँले पूर्व माओवादीहरु अहिले तितर बितर भएर बाबुरामहरु मालेमावादी विचार नै परित्याग गरेर जसमामा पुगेको र बादलहरु केपी ओलीको सबभन्दा बफादार हनुमान बन्न पुगेको अवस्थामा पूर्वमाओवादीहरुबीचको एकताको कुरा गर्नु सान्दर्भिक नरहेको बताउँदै उहाँले अलग अलग विचार र दृष्टिकोण राख्नेहरुबीचमा एकताको कुनै सम्भावना नरहेको बताउनु भयो ।

 

 

राजनीतिमा भावनात्मक कुरा गरेर मात्र नहुने भन्दै उहाँले एकता भनेको विचार र राजनीतिको आधारमा हुने प्रष्ट पार्नुभयो।

 

यतिखेर समान विचार र दृष्टिकोण राख्ने सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुबीचमा भने एकता आवश्यक रहेको र त्यस दिशातर्फ क्रान्तिकारी माओवादीले पहल पनि गरिरहेको बताउनुभयो ।

‘राष्ट्रिय स्वाधीनतामाथि गम्भिर खतरा’

जारी सीमा अतिक्रमण, लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा भारतको नियन्त्रण, उपस्थति र भौतिक संरचना निर्माण, आन्तरिक राजनीतिमाथिको हस्तक्षेप, एमसीसी सम्झौताको कार्यान्वयन आदिका कारण नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता गम्भिर संकटमा परेको चर्चा गर्दै अध्यक्ष गजुरेलले केपी ओली अहिले दिल्लीको रोडम्यापमा हिडेको दाबी गर्नुभयो ।

 

 

ओलीले एकपछि अर्को राष्ट्रघात गर्दै गएको प्रसंग कोट्याउँदै उहाँले ओलीको राष्ट्रघात र विदेशी हस्तक्षेपका विरुद्ध पाँच पूर्व प्रधानमन्त्रीहरु समेत वक्तव्य जारी गर्न बाध्य भएको बताउनु भयो ।

 

 

अब राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सम्पूर्ण देशभक्त क्रान्तिकारीहरु एकजुट भएर राष्ट्र बचाउन लागिपर्नुपर्नेमा समेत जोड दिनुभयो ।

 

 

पक्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिंदै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनमा सबैसँग हातेमालो गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

‘ओलीको विकल्प होइन व्यवस्थाको विकल्प खोजौं’

मुलुकमा उत्पन्न संकटको मुख्य कारण ओली मात्र नभएर संसदीय व्यवस्था रहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले संसदीय व्यवस्था रहेसम्म ओलीहरु जन्मिरहने र नेपाली जनताले दुःख पाइरहने पनि बताउनु भयो ।

 

 

अबको अग्रगामी र क्रान्तिकारी विकल्प भनेका संघीय जनगणतन्त्र भएकोमा जोड दिंदै उहाँले ओलीको प्रतिगमन र प्रचण्ड–देउवाको यथास्थितिवाद (संसदको पुनस्र्थापना)ले संकटको समाधान नगर्ने भन्दै उहाँले जनता अब विस्तारै व्यवस्थाको अग्रगामी विकल्पको खोजीमा लाग्न थालेको स्पष्ट पार्नुभयो ।

 

 

अग्रगामी विकल्पका पक्षधर राजनीतिक शक्तिहरु एकताबद्ध भएर अगाडि जानुपर्ने चर्चा गर्दै उहाँले १३ वटा राजनीतिक पार्टी तथा संगठनहरु त्यसका निम्ति तयार रहेको र उनीहरुले विकल्पको रुपमा संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको नारा अगाडि सारेका पनि बताउनु भयो ।

 

 

 

संसारमा कहिंपनि जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना नभएको र नेपालमा नयाँ जनवादी क्रान्ति नै सम्पन्न नभएको अवस्थामा जनमत संग्रहबाट वैज्ञानिक समाजवादको स्थापना असम्भव रहेको र समाज विकासको ऐतिहासिक भौतिकवादी मान्यता अनुसार पनि त्यो नारा अहिले नै दिन सैद्धान्तिक हिसाबले नै त्रुटीपूर्ण रहेको पनि दाबी गर्नुभयो ।

 

 

कार्यक्रममा पत्रकारहरुले सोधेको जवाफ दिंदै अध्यक्ष गजुरेलले कोभिड महामारी नियन्त्रण, जनताको स्वास्थ्य उपचार, खोप, बाढी पहिरो नियन्त्रण तथा उद्दार राहतको कार्यमा ओली सरकार पूर्णत असफल रहेको समेत टिप्पणी गर्नुभयो ।

 

 

ओली सरकारको राष्ट्रघात र जनघातका विरुद्ध नागरिक समाज तथा आम जनता स्वतःस्फूर्त सडकमा निस्कन थालेको प्रसंग कोट्याउँदै उहाँले कोभिड महामारीको प्रभाव कम हुँदै गएको अवस्थामा नेपालमा ठूलो विद्रोह वा क्रान्ति अवश्यम्भावी रहेको भविष्यवाणी गर्नुभयो ।

 

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो।