महन्थ ठाकुर समूहसँग निर्वाचन आयोगले माग्यो जवाफ
काठमाडौं। निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग लिखित जवाफ मागेको छ । असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दावीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो ।
आयोगको निर्णयमा भनिएको छ , ‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८÷३÷४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।
यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई आयोगले दुबै पक्षको दावी नपुग्ने भनी अस्वीकार गरेको थियो ।