बाढीपहिरोमा परेर २० जनाको मृत्यु,२१० घर डुबानमा,८ सय ६ को उद्धार

काठमाडौं। मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ ।

 

 

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए।

 

 

बाढीपहिरो र डुबानमा परी सिन्धुपाल्चोकमा २० र बाजुरामा एक घाइते भएका छन् । पहिरो तथा बाढीका कारण बन्द विभिन्न स्थानका सडक प्रहरीले चालु गराएको छ ।

 

 

वर्षाका कारण जुम्ला, कास्की, बैतडीलगायत स्थानमा आज पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

बाढीका कारण २१० घर डुबानमा परेका छन् । सात सय ४८ घरका तीन हजार २५८ जना विस्थापित भएका छन् । विपद्मा ६३० पशु चौपाया मरेका छन् ।

 

 

उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी, सेना तथा सशस्त्र प्रहरी सक्रिय छन् ।

 

 

जोखिममा रहेका विभिन्न जिल्लाका व्यक्तिलाई सुरक्षित स्थानमा राख्ने, पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने तथा अवरोध सडक हटाउने कामसमेत जारी रहेको जनाइएको छ ।