सर्वोच्चको आदेश एक दिनअघि प्रचण्डले कसरी थाहा पाए बालुवाटारमा भयो खैलाबैला
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले संविधान विपरित भएको भन्दै नियुक्ति बदर गर्न अन्तरिक आदेश दिएको छ।
अन्तरिम आदेशसँगै गत जेठ २१ र २७ गते मन्त्री बनेका २० जना मन्त्री पदमुक्त बनेका छन्। जसमा एमालेबाहेक जनता समाजवादी पार्टीबाट सहभागी मन्त्रीहरुसमेत रहेका छन्।
सर्वोच्च अदालतको आदेशसँगै मंगलबार बालुवाटार पुगेका निवर्तमान मन्त्रीहरुबीच सर्वोच्चको आदेश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक दिनअघि कसरी थाहा पाए भनी कानेखुसी भएको स्रोतले बतायो।
निवर्तमान मन्त्रीहरुले प्रधानमन्त्रीलाई समेत प्रचण्डलाई सर्वोच्चको आदेश कसरी थाहा भयो भनी प्रश्न गरेका थिए।
काठमाडौंबाट चितवन जाने क्रममा प्रचण्डले धादिङको बेनिघाटमा कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए।
सोही क्रममा उनले भनेका थिए,ओलीका हरेक असंवैधानिक कदम खारेज गरेको अदालतले मन्त्रीको नियुक्ति पनि खारेज गर्छ। हेर्नुहोला भोलि २१ जना मन्त्रीको जागिर जान्छ।
नभन्दै भोलिपल्ट मंगलबार त्यस्तै आदेश आयो। तर बढुवा भएका अर्थमन्त्री विष्णु पौडेलको मन्त्री पद भने जोगिएको छ।
प्रचण्डको अभिव्यक्ति संयोगमात्रै भएको बालुवाटारको निष्कर्ष रहेको थियो।