अविरल वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु

दार्चुलामा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई र थप एक जनासहित तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

 

नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिएका छन् ।

 

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएपी भट्टले बताएका छन् । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका -३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले जानकारी दिए ।

 

नौगाढ गाउँपालिका – ३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिए ।

 

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको उनले बताएका छन्। स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।