इटली र इंग्ल्याण्डको युरोकप फाइनल यात्रा

युरो २०२० को १६ औं संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

 

एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।

 

११ वटा देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो । इंग्ल्याण्डले क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।

 

अब फाइनल खेल आगामी आइतबार इंग्ल्याण्डकै घरेलु मैदान वेम्बलीमा हुनेछ । समूह चरणको तीनवटै खेल जितेको इटलीले कुनै गोल खाएको थिएन । इंग्ल्याण्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल खायो ।

 

इटलीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता २००० र २०१२ को फाइनल पुगेको इटली पराजित भएको थियो । फाइनलसम्म पुग्दा अपराजित रहेको दुवै टोली त्यसलाई कायम राख्दै उपाधि जित्ने दाउमा छन् । इंग्ल्याण्ड पहिलो पटक फाइनल पुगेपछि अहिले ‘फुटबल कमिङ होम’ भनेर इंग्लिस मिडिया र फ्यानमार्फत ठूलो चर्चा भइरहेको छ । केहीले भने ‘फुटबल गोइङ रोम’ समेत भनिरहेका छन् ।

 

इटलीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । उता इंग्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ ।इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गरेका छन् भने रहिम स्टर्लिङले ३ गोल गरेका छन् । इटलीका पाँच खेलाडीले २-२ गोल गरेका छन् ।सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अघि छन् । उनले ५ गोल र १ असिस्ट गरेका छन् । यस्तै चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेका छन् । फ्रान्सका करिम बेन्जिमा ४ गोलसहित तेस्रो स्थानमा छन् ।