सरकारले एक सातामै सात सचिव बढुवा, अझै चार पद रिक्त

काठमाडौं। सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ। अझै चार सचिव पद रिक्त छन्।

 

 

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति गरिएपछि बढुवा सिफारश समितिले सचिव पदमा बढुवा गर्न धमाधम सिफारिस गर्ने गरेको छ।

 

 

बढुवा सिफारिस समितिको अध्यक्षता लोकसेवा आयोगको अध्यक्षले गर्ने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ।

 

 

एक रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने गर्छ। तीमध्येबाट एकलाई बढुवा गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ।

 

 

मन्त्रिपरिषद्ले यो साता कृष्णहरि पुष्कर, गणेश पाण्डे, सुशीलचन्द्र तिवारी, मधुसूदन बुर्लाकोटी, कृष्णप्रसाद आचार्य, प्रमिला बजाचार्य, डा। दामोदर रेग्मीलाई सचिव पदमा बढुवा गरेको हो।

 

 

सरकारले प्रमिला बज्राचार्यबाहेक अन्यलाई बढुवा सिफारिस समितिले एक नम्बरमा सिफारिस गरेका आधारमा बढुवा गरेको हो । ब्रजाचार्यको नाम भने दोस्रो नम्बरमा सिफारिस गरिएको थियो।

 

 

पहिलो नम्बरमा सिफारिस गरिएका सुशीलचन्द्र तिवारीको नाम छाडेर दोस्रो नम्बरकी बज्राचार्यको नाम सरकारले छानेको थियो ।

 

 

 

तिवारीको बढुवा दोस्रो लटमा मात्रै गरिएको थियो। वरिष्ठ सहसचिव हुँदा बज्राचार्य रेलवे विभागको महानिर्देशक पदमा कार्यरत थिइन्। सचिव पदमा बढुवा भएपछि उनको पहिलो नियुक्ति सोझै खानेपानी मन्त्रालयमा गरिएको थियो।

 

 

 

वरिष्ठ सहसचिवबाट सचिव पदमा बढुवा गरेपछि पहिलो नियुक्ति काठमाडौं बाहिर गर्ने परम्परा छ। बज्राचार्य प्राविधिक सेवा (इन्जिनियरिङ सेवा) की कर्मचारी हुन्।

 

 

उनलाई उपयुक्त हुने पद काठमाडौंबाहिर नभए पनि खानेपानी मन्त्रालयबाहेक पुनर्निर्माण प्राधिकरण, जल तथा ऊर्जा आयोग, नेपाल ट्रस्ट्रमा प्राविधिकतर्फ सचिव पदको दरबन्दी छ।

 

 

 

यसैगरी राष्ट्रिय सतर्कता केन्द्रमा पनि सचिव पदमा धेरैजसो प्राविधिकतर्फकै कर्मचारी पठाउने गरिएको छ तर बज्राचार्यको हकमा भने सोझै मन्त्रालयमा पदस्थापन गरिएको छ।