कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने

सुर्खेत । कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने भएको छ ।

 

आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

 

कोहलपुर, सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिए । ‘कोहलपुर, सुर्खेत प्रसारण क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जसहित अधिकांश भागमा जंगल पर्छ, रुखका हाँगाबिंगाहरु काट्नका लागि दिनभर विद्युत अवरुद्ध गर्नुपरेको हो,’ प्रमुख गिरीले भने ।

 

उनका अनुसार बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा टाँगिने र पटक,पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्न गर्न थालिएको हो ।

 

कोहलपुर,सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध हुने कार्यालयले जनाएको छ ।