क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउनु पर्ने,निर्देशनसहित निर्माण कम्पनीलाई विभागले पठायो पत्र

काठमाडौँ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ ।

 

 

बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।

 

 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिनुभयो ।

 

 

उहाँले भन्नुभयो, “पुलको डिजाइन र निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीले नै गरेको हो । सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो खर्चमा क्षतिग्रस्त सो पुलको निर्माण गर्नुपर्ने हुन्छ ।

 

 

निर्माण कम्पनी उम्कन पाउँदैन । निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिनुभयो ।

 

सम्झौताअनुसार पुलमा पाँच वर्षसम्म कुनै समस्या भएमा निर्माण कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने हुन्छ ।

 

सो पुल निर्माणको जिम्मेवारी २०६८ सालमा पप्पु–लुम्बिनी बिल्डर्स (जेभी)ले पाएकोमा पछि पप्पुले सम्पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरी हात झिकेको थियो ।

 

 

४७० मिटर लामो सो पुल ११ मिटर चौडा रहेको छ । पुलमा १२ वटा स्पान छन् ।गोरखापत्र दैनिकमा खबर छ।