मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी !
काठमाडौँ । कप्तान लियोनल मेस्सी र उनको टिम अर्जेन्टिनाले अन्तर्राष्ट्रिय ट्रफी हात पर्न सफल भएको छ। आइतबार ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई फाइनलमा पराजित गर्दै अर्जेन्टिना अमेरिकाको उपाधिको च्याम्पियन बनेको हो ।
कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो। मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो।
३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिँदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् । सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टिममा फर्किएका थिए ।
आज बिहान भएको फाइनल खेलमा साविकको विजेता तथा आयोजक राष्ट्र ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो । रियो दि जेनेरियोस्थित मराकना स्टेडियममा अर्जेन्टिनालाई जिताउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।
अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन निर्णायक गोल गर्ने एन्जल डी मारिया ।
खेलको २२औँ मिनेटमा उनले गरेको गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बन्यो । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे । यो अर्जेन्टिनाको १५औँ कोपा अमेरिकाको उपाधि हो ।
उसले कोपाको सर्वाधिक धेरै १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ । उसले सन् १९९३ यता उपाधि जित्न सकेको थिएन ।