सत्ताको चाबी नेपालको हातमा,देउवालाई नसघाए संसद् पुनर्स्थापना निरर्थक

काठमाडौं। यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ।

 

 

एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ। यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् ।

 

 

 

नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन्। तर उनीहरू दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन्।

 

 

 

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो।

 

 

 

हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ।

 

 

 

त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन्। नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन्।

 

 

 

यसैबीच ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नभएको बताएपछि एमाले एकता थप अन्योलमा परेको छ। ओलीको सो अभिव्यक्तिलगत्तै देउवा नेपालनिवास पुगेका थिए।

 

 

 

त्यसक्रममा उनले नेपालसँग विश्वासको मत मागेका थिए। नेपालले आफू निकटका सांसदलाई राखेर देउवालाई आश्वस्त पारेका थिए।

 

 

 

देउवापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास पुगेर सरकार टिकाउने विषयमा छलफल गरेका छन्। नागरिक दैनिकमा खबर छ।