लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट !

बुटवल । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

 

प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको भए पनि शुक्रबार बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।

 

असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको प्रवक्ता चौधरीले बताए । किन अध्यादेशबाट बजेट ल्याउनुपर्यो भन्ने प्रष्टाउन आज दिउँसो बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी पनि उनले दिए ।

 

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेरको थियो ।