अमेरिकाले अनुदानमा दिएको जोन्सन खोप दिन शुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाउने कार्य आज जोरपाटीबाट सुरु गरेका छन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार प्रधानमन्त्री देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।