जसपा विवाद टुङ्गाउन कार्यकारिणी सदस्यको सनाखत गर्दै निर्वाचन आयोग

 

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ ।

 

कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी छ ।

 

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।

 

जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।