विदेश जानेले यी दुईबटा अस्पतालमा लगाउन सक्छन् कोरोना खोप

काठमाडौ । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुईबटा अस्पताल तोकेको छ।

 

मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो ।

 

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा . झलक शर्मा गौतमका अनुसार विदेश जाने श्रमिक र विद्यार्थीले उक्त खोप केन्द्रमा गएर भेरोसेलको खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ ।

 

सरकारले काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ । उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन् ।

 

पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई खोप अनिवार्य गरेकाले अहिले खोप लगाउनेको संख्या बढेको छ।