धनगढी उप–महानगरपालिकामा कोरोना विरुद्धको खोप घरमै पुगेर लगाइदै
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाको अत्याधिक जोखिम रहेको धनगढी उप–महानगरपालिकाले नगरभित्र कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घर–घरमा गएर नाम दर्ता गर्न थालेको छ। अनलाइन नाम दर्ताका लागि उपमहानगरपालिकाले १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरेको छ ।
‘कोभिड खोप लगाउनबाट कोहि बञ्चित नहुन भनेर घरमै पुगेर १८ वर्षभन्दा माथिका व्यक्तिहरुको नाम दर्ता सुरु गरेका छौँ,’ धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नाम दर्तापछि खोप लगाउने कार्य पनि व्यवस्थित हुनेछ।’ धनगढी उप–महानगरपालिकाले साउन ६ गतेबाट घर–घरमा पुगेर अनलाइन नाम दर्ता अभियान सुरु गरेको थियो। नाम दर्ता गराउने अभियानमा ४० जना युवा स्वयंसेवक खटाइएको मेयर वडले बताए।
साउन मसान्तसम्म धनगढी उप–महानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको बताइएको छ। वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशीक अस्पताल, धनगढी उप–महानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाइन नाम दर्ताका लागि स्वयंसेवक खटिएका छन्।धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले अनलाइन नाम दर्ताका लागि खटिएका स्वयंसेवकहरुलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरेकी छन्।
अनलाइन नाम दर्ता अभियानका संयोजक प्रेम ढुंगानाले धनगढी उप–महानगरपालिकाबासीले अभियानलाई अवसरको रुपमा लिनुपर्ने बताए।अहिले पनि धनगढी उपमहानगरपालिकामा नागरिकको आवतजावत अत्याधिक रहेकाले कोरोनाको जोखिम उच्च रहेको छ। उपमहानगरमा मात्र दैनिक ५० जनासम्म संक्रमित भइरहेका छन्। भारतसँगको सीमानाका पनि खुला रहेकाले दैनिक भारतबाट पनि ठूलो संख्यामा नागरिक धनगढी भित्रिरहेको नगरप्रमुख वडले बताए।