१० जना सवार डुंगा कर्णाली नदीमा दुर्घटनाः तीन जना बेपत्ता, दुई घाइते

काठमाडौं । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन् । आइतबार दिउँसो १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

 

मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा बेपत्ता भएका हुन् । डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।

 

इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।