कर्णाली डुंगा दुर्घटना अपडेट : बेपत्ता तीनमध्ये एकको शव फेला
काठमाडाैँ । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए ।
कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य पाँच जना सकुशल छन् । घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन् । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । कर्णको अवस्था सामान्य छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेत र इलाका प्रहरी कार्यालय सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगेको छ।