मेस्सीले छाडे स्पेनिस क्लब बार्सिलोना

काठमाडौँ । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छोडेका छन् ।

 

बार्सिलोनाले बिहीबार कप्तान मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको जनाएको छ । विज्ञप्ति जारी गर्दै बार्सिलोनाले खेलाडी र क्लब सम्झौता नजिक पुगेको भएपनि ला लिगाको वित्तीय संरचनाको कानुनी बाधाका कारण मेस्सीसँग सम्झौता नवीकरण हुन नसकेको उल्लेख गरेको छ ।

 

मेस्सीको सम्झौता ३० जुनबाट सकिएको थियो । सम्झौता सकिएको दुई सातापछि मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै बस्न सहमत भएको र ५० प्रतिशत तलब कटौती गर्न पनि उनी सहमत भएको जनाइएको थियो ।

 

तर बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । अब मेस्सी फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

 

मेस्सीले सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले सात सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।