महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्छ : प्रियंका कार्की

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले सधैँ चर्चा पाउने गरेको छ ।

 

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्विरका कारणले बारम्बार चर्चाको विषय बन्ने गरेकी छन् । सायद, त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गरिरहन्छिन् ।

 

हातमा गिलास लिएर गर्भवती भुँडीमा जुस पिलाएको तस्विरदेखि स्विमिङ कस्टूममा बेबीबम्प देखाउँदै खिचाएको तस्विरसम्म उनका चर्चा र आलोचनाको विषय बनेका छन् । तस्विरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन् ।

 

तर जति नै आलोचना खेप्नु परेपनि उनले विभिन्न बेबीबम्प तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न भने छोडेकी छैनन् । बरु आमा बन्न लागेको क्षणलाई भरपूर इन्जोय गरिरहेकी उनले बताउँदै आएकी छन् ।

 

छिट्टै आमा बन्ने तरखरमा रहेकी प्रियंकाले पहिलो सन्तान जन्मिएको दुई वर्षपछि अर्को प्लान गर्ने बताएकी छन् । हालै एक टेलिजिन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले यो विचार राखेकी हुन् । महिलाले गर्भावस्थाको समयलाई उत्सवका रुपमा मनाउनु पर्ने बताएकी छन् ।

 

‘कुनैपनि महिला गर्भवती भएपछि आफूले जस्तै सेलिब्रेट गर्नुपर्छ भन्ने होइन । सेलिब्रेट गरेमा गाली र आलोचना दिन हुदैन’ उनले कार्यक्रममा भनेकी छन् । उक्त कार्यक्रममा प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीको साथ पुगेकी थिइन् ।