अफगानिस्तानका सेना प्रमुख बर्खास्त
काठमाडौं । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ ।
अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए ।
राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको बीबीसीले जनाएको छ ।
तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई कब्जामा लिएर सयौं कैदीहरूलाई रिहा गरेको समाचार सार्वजनिक भएको छ । यद्यपि यसको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।
हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्ने प्रयास जारी राखेको छ ।
अफगानिस्तानको दक्षिणी भागमा अवस्थित कान्दहार सहरका गल्ली(गल्लीमा अफगान सेना र तालिबानबीच लडाइँ भइरहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ ।
बढ्दो हिंसाको चपेटामा धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् । कयौं मानिसहरु पलायन भएका छन् । गत महिनामा एक हजार सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेना फिर्ता भएपछि तालिबान समूहले पुनः सक्रियता बढाएको छ ।
तालिबानविरुद्ध संघर्षरत अफगान सेनाको हौसला बढाउन राष्ट्रपति असरफ गनी बुधबार उत्तरी शहर मजार(ए(शरीफको एक र्यालीमा सहभागी भएका थिए । मजार(ए(शरीफ परम्परागत रूपमा तालिबान विरोधी शहरको रुपमा चिनिन्छ ।