अफगानिस्तानबाट चार्टर्ड जहाजमा फर्किए थप ७२ नेपाली
काठमाडौँ । अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल फर्किएका छन् । उनीहरू अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।
उनीहरु कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।
मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट नेपाल फर्किन चाहेको भन्दै २५६ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् । मंगलबार दिउँसो ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए ।