नसुध्रने बाटोमा देउवाः राजनीतिक अस्थिरताको भूमरीतिर मुलुक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री)को जिम्मेवारीमा पुगेपछि आम जनताले सोचेका थिए उनले आफ्नो विगत सुधार गर्नेछन्।

 

 

 

‘संविधानको जग बसाउने छन् र प्रतिनिधिसभाको पूर्ण कार्यकाल सञ्चालन गरेर देशलाई राजनीतिक स्थायित्वको बाटोमा अघि बढाउने छन्।

 

 

केपी ओलीले झैं जनताको प्रतिनिधिमुलक संस्था संसद्लाई बाइपास गरेर संविधान र कानुनविपरीत देउवा अघि बढ्ने छैनन्।

 

 

दुई तिहाइ समर्थनसहित सत्तारोहण गरेका ओली ४१ महिना बित्दा नबित्दै प्रतिपक्षमा पुगेको नजिकबाट देखेका देउवाले आफ्नो दललाई मात्र होइन गठबन्धनका दललाई विश्वासमा लिएर अघि बढ्नेछन्।

 

 

सत्ता स्वार्थ होइन मुलुकको हितलाई केन्द्रमा राखेर देउवा संविधान र कानुनअनुसार अघि बढ्छन्’, आम बुझाई यस्तै थियो।

 

तर, प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेको एक महिना पुग्दा नपुग्दै देउवाले ओलीकै पद चाप पछ्याउँदै अध्यादेशबाट मुलुक सञ्चालनमा अग्रसर भएका छन्।

 

 

 

अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका देउवाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका छन्।

 

 

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवाले गठबन्धनका नेताहरूलाई खुशी बनाउन र आफ्नो सत्ता टिकाउन राजनीतिक दल विभाजनको बाटोलाई खुकुलो बनाउने गरी अध्यादेश ल्याएका हुन्।

 

 

केपी ओली नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएकोमा विरोध जनाएका देउवाले अहिले सत्तामा पुगेपछि अहिले त्यही ओली बाटो समाएका छन्।

 

 

 

ओली नेतृत्व सरकारले जस्तै संघीय संसद्को अधिवेशन अन्त्य गरेर देउवाले राजनीतिक दल विभाजन प्रावधान विगतमा भन्दा पनि अझ खुकुलो बनाएर अध्यादेश ल्याएका हुन्।

 

 

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेलगत्तै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले र चौथो ठुलो जनता समाजवादी पार्टी विभाजित भएका छन्।

 

 

केही समयदेखि आन्तरिक विवादमा रुमलिएका दुवै पार्टीका असन्तुष्ट पक्षका नेताले अध्यादेश जारी भएको केही घण्टा पनि बित्न नपाउँदै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।

 

 

 

एमाले नेता माधवकुमार नेपालसहित असन्तुष्ट ५८ जना केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गराएका हुन्। त्यस्तै, समाजवादी पार्टीका महन्थ ठाकुर, राजेन्द्र महतोसहितका १५ सांसदसहितका नेताले पनि आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।

 

 

अध्यादेशले नेताहरूको स्वार्थअनुसार नयाँ दल गठनको बाटो खोलिदिएको छ। पुरानो दलमा पनि बस्न नसक्ने र नयाँ दल गठनको बाटो नहुँदा खुम्चेर बस्नुपर्ने बाध्यताबाट एमाले र जनता समाजवादी पार्टीका केही नेतालाई नयाँ पार्टीमा संगठित हुने बाटो यसले खोलिदिएको छ।

 

नागरिक दैनिकमा खबर छ।