महन्थले पनि परिवर्तन गरे पार्टीको नाम, नयाँ नाम ‘लोसपा’

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम परिवर्तन भएको छ । निर्वाचन आयोगमा शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नाममा दर्ताका लागि पुनः निवेदन दिइएको जसपाका नेता सुरेन्द्र झाले बताए ।

 

 

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने एक जना वरिष्ठ नेता थपिएको छ । यसअघि राजेन्द्र महतोलाई मात्रै वरिष्ठ नेता बनाइएकोमा अध्यावधिक विवरणमा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको झाले बताए ।

 

 

यस्तै महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो । बिहीबार जसपाले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएको थियो । त्यसपछि शुक्रबार ठाकुर समूहले आयोगमा आग्रहमा नाम फेर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पुनः निवेदन दिएको हो ।