लुम्बिनी प्रदेशसभा सदस्य शाही र वलीलाई पदमुक्त नगर्न एमालेलाई प्रदेश सचिवालयको पत्र

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।

 

 

सचिवालयले नेकपा एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।

 

 

प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

 

 

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो ।

 

आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।