ओलीकै कारण एमाले विभाजन भएको हो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको बताएका छन्।
चन्द्रागिरि रिसोर्टमा मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्दै नेता नेपालले ओलीले पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकिकृत समाजवादी) गठन गर्न बाध्य भएको जानकारी दिए ।
‘ओलीकै कारण पार्टी विभाजन हुनुपर्यो, ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकिकृत समाजवादी) गठन गर्न बाध्य भएका हौं’, नेपालले भने।
साथै उनले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफ्नै सल्लाहमा मुख्यमन्त्री बनेको बताए ।
‘उहाँ (अष्टलक्ष्मी शाक्य) मेरै चाहना र सुझावअनुसार मुख्यमन्त्रीमा जानुभएको हो। तर उहाँ पनि अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘पार्टी दर्ता भएको २१ दिनभित्र उहाँहरूलाई पार्टी रोज्ने अधिकार हुन्छ। त्यो समय भित्र कता रोज्नुहुन्छ। उहाँमाथि भर पर्ने कुरा हो। तर अहिले मेरो अनुमतिबाट नै जानुभएको हो।’
माधव नेपालसहितका नेताहरू सोमबार रातिदेखि नै चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन्। उनीहरू बुधबार बिहानसम्म सोही रिसोर्टमा बस्ने व्यवस्था मिलाइएको छ। बुधबार निर्वाचन आयोगले उनीहरूलाई पार्टी दर्ताका लागि सनाखत गर्न बोलाएको छ।