आयोगले नयाँ दललाई मान्यता दिएसँगै :अब मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं। निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीलाई नयाँ दलको मान्यता दिएको छ ।

 

 

 

एमालेबाट अलग भएका माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट अलग भएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनेका हुन् ।

 

 

 

यी दुईसहित दलको संख्या ९७ पुगेको छ । एकीकृत समाजवादी चौथो र लोकतान्त्रिक छैटौं पार्टी बनेका छन् । आयोगले नेपाल र ठाकुरको पार्टीलाई मान्यता दिएसँगै सत्ता गठबन्धनको बहुमत पुगेको छ ।

 

 

 

प्रतिनिधिसभामा एमाले ९८ सांसदमा खुम्चिएको छ । सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १५२ सांसद पुगेका छन् । एकीकृत समाजवादीले तत्कालै सरकारमा सहभागी हुने जनाएको छ ।

 

 

 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेशअनुसार दुवै पार्टीलाई दर्ता गर्ने निर्णय भएको आयोगका सचिव सुरेश अधिकारीले बताए ।

 

 

 

आयोगले नेपालको पार्टीको दर्ता नम्बर १६६ र ठाकुरको पार्टीको दर्ता नम्बर १६७ कायम गरिदिएको छ ।

 

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

 

२ सय ३ केन्द्रीय सदस्यमध्ये ५५ जना एमाले छाडेर नयाँ दलमा समावेश भएका छन् ।

 

 

एमालेबाट छुट्टिएका २० प्रतिशत केन्द्रीय सदस्यको आधारमा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ । एकीकृत समाजवादीले सांसद भने २० प्रतिशत पुर्‍याउन सकेन ।

 

 

आयोगले दुवै पार्टीलाई बुधबार साँझ दल दर्ताको प्रमाणपत्रसमेत दिइसकेको छ । आयोगले दल दर्ताको निवेदन दिएका दुवै पार्टीका संघीय सांसद र केन्द्रीय सदस्यलाई बुधबार बिहान ११ बजे सनाखतका लागि बोलाएको थियो ।

 

 

 

आयोगका अनुसार एकीकृत समाजवादीका ३० सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको थियो । ३० मध्ये २३ जना प्रतिनिधिसभा र ७ जना राष्ट्रिय सभा सदस्य छन् ।

 

 

 

यही पार्टीमा आउन चाहेका तीन जनाको भने आयोगले सनाखत गरेन । झलनाथ खनालबाहेक अरू सबै आयोगमा उपस्थित भएर सनाखत गरेका हुन् । खनालको दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गराएको आयोगले जनाएको छ ।