सभामुख र निर्वाचन आयोगविरूद्ध अदालतमा जाने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटा र माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने निर्णय गरेको छ ।

 

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

 

 

पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरुको समेत सनाखत गरिएको एमालेले जनाएको छ ।

 

 

एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन । कानुनसम्मत गर्ने हो । तर कयौं कुराहरु यो ढंगको देखिएकाले कानुनी उपचार खोज्ने भनेका हौं ।’

 

 

त्यस्तै उनले सभामुखले पार्टीको पत्रअनुसार कारवाहीको सूचना टाँस नगरेर गल्ती गरेको पनि बताए । ‘सभामुखले पार्टीको पत्रअनुसार कारवाहीको सूचना टाँस नगरेर गल्ती गर्नुभएको छ । यसको पनि हामीले यथोचित कानूनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौ’ बैठकको निर्णय सुनाउँदै ज्ञवालीले भने ।

 

 

केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।