एनआरएनः चुनौतीका तीन चुचुरा
नेपालमा दसैं र विदेशमा अक्टोबर महिना नजिकिएसँगै दुवैतर्फ गैरआवासीय नेपाली संघ (एनआरएन)का गतिविधि बढ्न थाल्छन् । अझ बढी त प्रत्येक दुई वर्षमा आउने दसैं वा अक्टोबरमा । किनभने प्रत्येक दुई वर्षमा एनआरएनको नेतृत्व परिवर्तन जो हुन्छ ।
केही महिना वा केही साता यतादेखि युरोप अमेरिकातिर एनआरएनएका गतिविधि बढिरहेको छ । राष्ट्रिय समन्वय समितिको निर्वाचन र अन्तर्राष्ट्रिय समन्वय समितिका ‘डेलिगेटस’ छनोट प्रक्रिया चलिरहेको छ ।
यस क्रममा कतिपय ठाउँमा विवाद पनि देखिएका छन । निर्वाचनका बेला केही विवाद सतहमा आउनु अस्वभाविक पनि होइन । विचार र स्वार्थहरू निर्वाचनका बेला एक ठाउँमा ठोक्किन वा जुध्न आइपुग्छन् ।
त्यसमाथि जहाँ बसे पनि हामी नेपालीका कतिपय चारित्रिक गुण वा अवगुण पनि छन् जसले अनावश्यक बिवाद बढाई रहन्छन् ।
निर्वाचनका बेला देखापर्ने विवाद खासमा एनआरएनका सवाल होइनन् । गैरआवासीय नेपालीका केही खास विषय छन्, केही खास उद्देश्य र चाहना छन् । बेला बेलामा देखापर्ने विवाद गैरआवासीय नेपाली संघका उद्देश्य र चाहनाका विषयहरु होइनन् ।
ती त हामी नेपालीका स्वभावका ‘बाइप्रोडक्ट’ हुन् । यसभन्दा बढी, राष्ट्रिय समन्वय समिति वा अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रकट हुने विवादलाई महत्त्व दिनु आवश्यक छैन ।
आज गैरआवासीय नेपालीले साँच्चीकै महत्त्व दिनुपर्ने विषय त विश्वास आर्जन हो । नेपाल सरकारको विश्वास, नेपाली जनताको विश्वास, समग्र गैरआवासीय नेपालीबाट विश्वास । र, कर्मभूमिका सरकार र जनताको विश्वास । हो, यही विश्वास आर्जनले मात्र गैरआवासीय नेपाली संघको उद्दश्य र चाहना पूरा गर्न मद्दत गर्छ ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवको रूपमा बितेका दुई वर्षमा मैले कहीँ न कहीँ, कतै न कतै, कुनै न कुनै रूपमा सबैतिर विश्वासको संकट देखिरहेको छु ।
हामी र हाम्रा सन्तान दरसन्तान, नेपाल र नेपालीसँग सदैव जोडिइरहुन् र तिनले मातृभूमिको समृद्धिमा कुनै न कुनै योगदान दिउन् ।
गैरआवासीय नेपाली संघको यति पवित्र चाहनाप्रति पनि हामीले आजसम्म नेपाल सरकारबाट अझै पूर्ण विश्वास आर्जन गर्न सकेका छैनौ ।
जुन दिन हामी नेपाल सरकार र नेपाली जनतालाई हाम्रा पवित्र चाहनाप्रति विश्वास दिलाउन सक्नेछौ त्यो दिन गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता र दोहोरो कर प्रणाली वा लगानी जस्ता विषय सरल र सहज हुनेछन् । हो, यही विश्वास दिलाउन सक्नु नै आज हाम्रो चुनौतीको विषय हो ।
यो चुनौतीलाई हामीले कसरी सामना वा समाधान गर्छौँ त्यसैमा एनआरएनको महत्त्व र भुमिका भरपर्छ । त्यसैका आधारमा एनआरएनको महत्व र भुमिका बढछ पनि ।
यी पैसा लिएर र पैसा लिन आउँछन् ।’’ वा ‘‘यी पैसा लिएर गफ दिन आउँछन्,’’ भन्नेजस्ता भ्रम वा सोच आज पनि कता कता नेपाल सरकार र नेपाली जनतामा हामीजस्ता एनआरएनप्रति छ । हो, यही भ्रम र सोचलाई गैरआवासीय नेपालीले तोड्नु पर्छ ।
विश्वास दिलाउनु छ – हामी गैरआवासीय नेपाली पैसा भन्दापनि ठूलो मायाका साथ नेपाल र नेपालीसँग जोडिइरहन चाहन्छौँ ।
विश्वास दिलाउनु छ – प्रविधि र ज्ञानको गफभन्दा पनि हामी जन्मभूमिको समृद्धि देख्न चाहन्छौँ । सहयोग, सम्बन्ध र भावनाका दायरा साँच्ची नै बढाउन चाहन्छौँ ।
जुन दिन यो विश्वास हामीले नेपाल सरकार र नेपाली जनतालाई दिलाऊन सक्नेछौँ त्यही दिन मैले अघि नै भनेजस्तो दोहोरो नागरिकता, दोहोरो कर र लगानीका विषय असाध्यै सहज हुनेछन् । जुन देशको अर्थतन्त्र मूलतः रेमिटयान्सले चलायमान बनाउँछ त्यस देशले गैरआवासीय नेपालीलाई सदैव अन्योल र दूरीमा राख्न चाहन्छजस्तो मलाई लाग्दैन ।
यो मातृभूमिको कुरा भयो ।
हो ठीक यस्तै विश्वास हामीले उनीहरूको कर्मभूमिमा जीवन बिताइरहेका असंख्य नेपालीबाट पनि प्राप्त गर्नुपर्छ । उनीहरूका दुःख सुख वा समृद्धिमा साथ दिनुछ ।
उनीहरूलाई पनि विश्वास दिलाउनु छ – एनआएरएन भनेको हामी सबै नेपालीको हो । अर्थात्, नेपालीको र नेपालीका लागि हो भन्ने विश्वास ।
समग्र गैरआवासीय नेपालीबाट यो विश्वास आर्जन गर्नु आजको गैरआवासीय नेपाली संघको अर्को एउटा चुनौती हो । यसका लागि हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ ।
यसका लागि हामीले सबै गैरआवासीय नेपालीका बाध्यता, परिस्थिति र भावना बुझुनु र त्यस सँगसँगै हुनु जरुरी छ ।
यसका लागि हामीले प्रत्येक गैरआवासीय नेपालीको समृद्धिमा साथ दिनुछ । व्यक्तिको समृद्धिले नै संगठन, समाज र देशको समृद्धिमा योगदान दिने हो ।
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको वर्तमान सचिवको हैसियतले म सदैव यसैमा प्रयत्नरत छु । प्रयत्नरत रहिरहने छु।
तेस्रो, हामी नेपाली आफ्नो मातृभूमि छोडेर जुन जुन देशमा बसिरहेका छौँ ती देशका सरकार र जनताबाट पनि विश्वास आर्जन गरेर आफूलाई त्यहाँ पनि बलियो बनाउनु छ । त्यहाँ पनि हामीले पूर्ण विश्वास प्राप्त गर्नुछ । गैरआवासीय नेपाली संघका लागि यो अर्को चुनौती हो ।
समग्रमा, गैरआवासीय नेपाली संघ तीन मुख्य चुनौतीको चुचुरामा खडा छ । आन्तरिक सामान्य विवादका विषय छोडेर गैरआवासीय संघ यसैतर्फ केन्द्रित हुनु आवश्यक छ ।
(सचिव, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् ।)