प्रगतिवादी साहित्यकार सिर्जन अविरलको कृति ‘मोक्ष’ उपन्यास सार्वजनिक

काठमाडौँ । चितवन साहित्यकार सिर्जन अविरलद्वारा लिखित जनयुद्ध क्यानटनमेन्ट र सेना समायोजनसम्मको सजीव तस्बिर ‘मोक्ष’ उपन्यास विमोचन भएको छ। शनिबार एक भव्य कार्यक्रमका बिच सो उपन्यास अंकुरम एकेडेमीको सभाहलमा विमोचन भएको हो ।

 


कार्यक्रममा चितवनका करिब ३०० कवि तथा साहित्यकारहरुको उपस्थिति थियो। कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले सिर्जन अविरलको कृतित्वमाथि प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गरे। समालोचक डा. धनेश्वर भट्टराईले यो उपन्यासमा जनयुद्धको वातावरण र घटनाक्रम वास्तविक रुपमा पेस गर्ने जमर्को साहित्यकार सिर्जन अविरलले गरेकोे बताए।

 

कार्यक्रममा कवि एल.बी.क्षेत्री, वामपन्थी नेता मुक्ति अधिकारी , प्रेम रिमाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा साहित्यकार सिर्जन अविरलका बुवा निलकण्ठ अधिकारी , आमा गोमा अधिकारी, प्रगतिशील लेखक संघका अध्यक्ष कवि मोदनाथ मरहठ्ठा, पोषराज पौडेल लगायतको उपस्थिति थियोे ।

 

कार्यक्रममा स्वागत मन्तव्य कवि उदय अधिकारी र कार्यक्रमको सभापति अंकुरम एकेडेमीका प्रमुख सुमन पौडेलले गर्नु भएको थियोे । उक्त कार्यक्रमको सहजीकरण प्रलेसका पूर्व अध्यक्ष द्वारिका नेपालले गरेका थिए।