रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं ।रोल्पामा पहिरोले घर पुरिँएर एकै घरका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –१० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा ७० वर्षीया वृद्धा गौरी थापा र उनका नाति छन् । बालकको परिचय खुल्न नसकेको सुवेदीले जानकारी दिए ।

 

 

राति करिब २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् ।

 

 

बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

 

 

यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका–२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ ।

 

 

रोल्पाकै सुनछहरी गाउँपालिका–६ मा नोवाङखोला लघुजलविद्युत आयोजनाको करिब ५० मिटर बाँध बाढीले बगाएको प्रहरीले जनाएको छ ।न्युज कारखाना,