कांग्रेस महाधिवेशन : २१ जिल्लामा तत्काल वडा अधिवेशन तत्काल नहुने
काठमाडौं । ७७ जिल्लामध्ये २१ जिल्लामा भने नेपाली कांग्रेसको वडा अधिवेशन तत्काल नहुने भएको छ । २१ जिल्लामा क्रियाशील विवाद टुंग्याउन बाँकी रहेकाले ती जिल्लामा वडा र पालिका अधिवेशन दुवै प्रभावित बन्ने भएको हो ।
नेपाली कांग्रेसले २३ भदौभित्र वडा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि निर्वाचित छान्ने र २७ भदौमा पालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल, सुनिलबहादुर थापा राप्रपा र अखण्ड नेपाल पार्टीबाट आएकाहरूको क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन नहुने निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए । खासगरी प्रदेश १ र २ मा क्रियाशील विवाद टुंगिन बाँकी भएको उनले बताए ।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले ५६ जिल्लामा वडा अधिवेशन धमाधम भइरहेको छ । धेरै जिल्लामा वडा अधिवेशन सर्वसम्मत भएका छन् । केहीमा भने निर्वाचनमार्फत वडा कमिटी चुनिएका छन् ।