एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी) का अध्यक्ष गजुरेलसहित ६ जना पक्राउ

 

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि विरोध  प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन् । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ६ जनालाई पक्राउ गरेका हो ।

 

 

पक्राउ पर्नेहरुमा अखिल  (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल,  महासचिव पेशल दाहाल,  सचिव महेश श्रेष्ठ,  केन्द्रिय सदस्य  मिनप्रसाद गिरी लगायतका नेताहरू छन् । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

 

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को यसै साता  नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।