बुहारीमाथि निर्घात कुटपिट गर्ने जेठाजु पक्राउ

काठमाडौँ । जुम्लाको सिंजा गाउँपालिका–२ की ३३ वर्षीया सत्यावती धितालमाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । आफ्नै बुहारीलाई अपशब्द बोल्दै निर्घात कुटपिट गर्ने कर्मराज धिताललाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । दाजुले आफ्नी श्रीमतीलाई विनाकारण कुटपिट गरेको भन्दै धर्मचन्द्र धितालले आइतबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दर्ता गरेका थिए ।

 

 

कर्मराज, उनकी श्रीमती, भाइबुहारीसहित चारजनाले आफूमाथि शनिबार निर्घात कुटपिट गरेको सत्यावती धितालले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीले अन्य तीनजनालाई तारेखमा छाडेर कर्मराज धितालमाथि अनुसन्धान अगाडि बढाएको छ ।

 

 

जुम्लाको सिंजा गाउँपालिकाको एक सिँचाइ आयोजनाको विषयमा विवाद हुँदा कर्मराजले आफ्नी भाइबुहारीमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ । कर्मराजले यसअघि पनि विभिन्न व्यक्तिलाई कुटपिट गरेको स्थानीय बताउँछन् ।