बंगलादेशविरुद्ध नेपालको जित
काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २-१ गोल अन्तरले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २ -० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो ।
नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् ।
त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् । उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन्।
८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल गरेपनि हार टार्न सकेन ।आजको मैत्रीपूर्ण खेलबाट मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले राष्ट्रिय टिममा डेब्यु गरिन् ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार पुन हुनेछ ।