सत्ता गठबन्धनका नेताहरुसँग प्रधानमन्त्रीले मागे मन्त्रीहरुको नाम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरूको नामावली छिटो दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

 

 

मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै देउवाले आ–आफ्नो पार्टीमा मन्त्रीहरूको नाम छिटो टुंग्याएर दिन आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् ।

 

 

मन्त्रिपरिषदलाई पूर्णता दिन निकै ढिलो भइरहेको भन्दै प्रधानमन्त्री देउवाले छिटो मन्त्रीहरू टुंगो लगाउन नेताहरूलाई आग्रह गरेको उनले बताइन् । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी बारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ । यस्तै आज बस्ने संसद् बैठकमा विभिन्न अध्यादेश पेस गर्ने विषयमा पनि छलफल भएको पौडेलले जानकारी दिइन् ।

 

 

बिहान समय अभावका कारण छलफल नटुंगिएपछि आजै बेलुकी ६ बजे पुनः बैठक बस्ने जनाइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट पौडेलको सहभागी थिए ।

 

 

कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।