एमाले सांसदको नाराबाजीबिच पनि बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले सांसदको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक फेरि अघि बढाएका छन् ।
शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाए । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।
प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।