विप्लव नेकपाको चुनावमा भाग नलिने निर्णय

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी संसदीय चुनावमा भाग नलिने निर्णय गरेको छ।

 

 

तनहुँको बन्दीपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो। असोज १ देखि ५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रगतिशील संयुक्त सरकार बनाएर जनमत संग्रहमा जाने निर्णय गरेको पार्टीले जनाएको छ।

 

 

बैठकका निर्णय काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् जानकारी दिने नेताहरुले बताएका छन्। दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रहमा जाने विषयलाई देशैभर बहसको रुपमा लगेर माहोल बनाइने नेकपाको तयारी छ।

 

 

जनमत संग्रह गर्ने स्थिति नभएमा संसदीय चुनाव के गर्ने भन्ने विषयमा त्यतिबेलाको परिस्थिति हेरेर निर्णय गर्ने भएको छ।

 

 

त्यस्तै यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्ने निर्णयसमेत भएको नेताहरुले बताएका छन्।

 

 

पार्टी स्थापना दिवसको उपलक्ष्यमा नेकपाले मंसिर ८ गते काठमाडौंमा बृहत् आमसभा गर्ने जनाएको छ। नेकपाले आगामी फागुनमा पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ।