वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सब भव्यताका साथ सम्पन्न
चितवन ।वी पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सब तथा १७ औं क्यान्सर सतर्कता दिवस आज एक भव्य समारोहका बिच सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर रोगको उपचार महंगो भएको र यसको लागि उपचारमा बिरामीलाई दिईदै आएको एक लाख रकम बढाएर पाँच लाख पुर्याउने निर्णय सरकारले गरेको बताउनु भयो ।
क्यान्सर अस्पतालमा आवश्यक पर्ने पेट स्क्यान, लिन्याक्स एक्सिलेटर लगायतका ठूला उपकरण खरिद गर्नुपर्ने बताउदै आवश्यक थप उपकरणका लागि सुझाव दिन उहाँले आग्रह समेत गर्नुभयो।
अस्पतालमा थप शैक्षिक कार्यक्रम सञ्चालन गर्न सरकारले सहजीकरण गर्ने बताउदै रिसर्च सेन्टरको रुपमा अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो। आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाईसक्ने उहाँले बताउनुभयो।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले अस्पतालको तरल अक्सिजन प्लान्ट एवम् फोहोर व्यवस्थापन युनिटको उद्घाटन गर्नुभयो।
अस्पतालले तरल अक्सिजन ट्यांक जडान गरि एकीकृत अक्सिजन सप्लाई र फोहोर विभाजन गरी ग्यास उत्पादन र रिडक्स गरि व्यवस्थापन गरेको छ।
अस्पताल सञ्चालक समिति अध्यक्ष डा.निर्मल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक डा. देजकुमार गौतमले स्वागत मन्तव्य एवम् अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
डा.उपनिर्देशक कृष्णसागर शर्माले सञ्चालन गरेको कार्यक्रममा कोभिड उपचारका सहयोगदातालाई सम्मान तथा चिनियाँ चिकित्सक टोलीलाई लेटर अफ एप्रिकेशन प्रदान गरिएको थियो। सोही अवसरमा आईएईबाट प्राप्त दुई करोड बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरियो।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल , प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ , ने.का. चितवनका सचिव उत्तम जोशी , मा.के. का प्रतिनिधि बद्री तिमल्सिना ,नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी,नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख डा. प्रदिप ज्ञवाली , चिनियाँ चिकित्सक टोलीका प्रमुख डा. झाङ्ग वी,भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, सञ्चालक समितिका पूर्व अध्यक्ष डाक्टर भक्तमान श्रेष्ठ , सञ्चालक समिति सदस्य रामप्रसाद न्यौपाने लगायतका वक्ताहरूले अस्पतालको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।