नयाँ विधानको धज्जी उडाउँदै माओवादी

काठमाडौं। निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना गर्दै अन्तरिम विधान २०७८ पारित गरेको माओवादी केन्द्रले डेढ महिनामै विधानको धज्जी उडाएको छ ।

 

 

साउन ३० र ३१ मा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको विधान–२०७३ लाई खारेज गर्दै अन्तरिम विधान–२०७८ पारित गरेको थियो ।

तर, नयाँ विधानको मान्यता भत्काउँदै माओवादीले जनवर्गीय संगठनको नेतृत्वमा फेरि टिके प्रणाली लागू गरेको छ ।

 

 

पछिल्लो पटक विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न सकेन । अध्यक्षमा पञ्चा सिंह, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, उत्तम अधिकारी मुख्य दाबेदार थिए ।

 

 

सम्मेलनले नेतृत्व छान्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले हस्तक्षेप गरेर सिंहलाई अध्यक्ष तोकिदिए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लाग्न सकेको छैन ।

 

 

पार्टी ‘हेडक्वाटर’ ले नै नेतृत्व तय गरेपछि सम्मेलनको अन्तिम दिन अर्थात् असोज १८ मा बन्दसत्रमा झडप पनि भएको थियो ।

 

 

त्यसअघि पार्टीको सहायक संगठन वाईसीएलमा पनि ‘हेडक्वाटर’ ले नै नेतृत्व तोकेको थियो । वाईसीएल अध्यक्षमा सुमन देवकोटा, सुबोध सेर्पाली र यशोदा न्यौपानेको दाबी थियो ।

 

 

तर, वाईसीएलमा नेतृत्वको आकांक्षी धेरै भएपछि ‘हेडक्वाटर’ ले हस्तक्षेप गरेर देवकोटालाई अध्यक्ष घोषणा गरिएको थियो । कान्तिपुर दैनिकले लेखेको छ।