प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास
काठमाडौं। सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ।
प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।
‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मात्रै छ। त्यसबाहेक अन्य सामग्री पनि प्रयाप्त छैन।
रूपन्देहीको मोतिपुरमा प्रहरीमाथि आक्रमण भएपछि भीड नियन्त्रणका लागि बाध्य भएर प्रहरीले प्रयोग गरेको अश्रुग्यास १० वर्ष अघि नै म्याद गुज्रेको थियो।
त्यहाँ प्रयोग गरिएको अश्रुग्यास सन् २०१० मा म्याद सकिएको थियो। म्याद सकिएको अश्रुग्यास एक प्रकारको विष सरह मानिन्छ। त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ।
अश्रुग्यास जतिवेला म्याद सकिन्छ त्यतिबेला नै नष्ट गर्नुपर्ने हुन्छ तर अहिलेसम्म नष्ट नगरी राख्नुमा नेपाल प्रहरीको बाध्यता भएको प्रहरी स्रोतको दाबी छ।
‘हामीसँग अन्य कुनै विकल्प छैन भिड नियन्त्रणका गर्नका लागि यही अश्रुग्यास प्रयोग गर्नुपर्ने हुन्छ, हरेक यूनिटमा अहिले म्याद गुज्रेको अश्रुग्यास छ,’ प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।
प्रहरी स्रोतका अनुसार हरेक वर्ष सामान्य मात्रामा अश्रुग्यास किन्ने अनुमति भएपनि त्यो काठमाडौंकै भीडभाड नियन्त्रणमा सकिने भएकाले काठमाडौं बाहिर म्याद गुज्रेकै अश्रुग्यास प्रयोग गर्न थालिएको हो।
सामान्यतया अश्रुग्यास प्रयोगबारे भीडमा धेरैको ध्यान नजाने भएकाले पनि प्रहरीले यस्तो कमजोरी पटक पटक दोहोर्याउन थालेको छ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरले यो विषयमा आफू जानकार नभएको बताए। ‘मलाई जानकारी छैन भोली म बुझेर जानकारी दिनेछु,’ एसएसपी कुँवरले भने।
नेपाल प्रहरीले २०७४ सालमा केही हजार थान अश्रुग्यास खरिद गरेको थियो तर सो अश्रुग्यास निर्वाचनमा भएका झडपमा प्रयोग गर्दा सकिएकाले अहिले पुरानै अश्रुग्यास प्रयोग भएको प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीका एक अधिकृतका अनुसार अश्रुग्यासको आयू सामान्यतया ५ वर्षको हुनेछ। २०७४ सालमा खरिद गरेको अश्रुग्यास बाँकी रहेको भएपनि म्याद सकिने बेला भैसकेको छ। तर त्यतिबेला खरिद गरेको सबै अश्रुग्यास निर्वाचनको समयमा सकिएको थियो।
त्यसपछि अन्तर्राष्ट्रिय सम्मेलन र विशिष्ट व्यक्तिको भ्रमणको बेला पनि प्रहरीले अश्रुग्यास खरिद गरेको भएपनि त्यो अश्रुग्यास यसअघि नै प्रयोग भइसकेको नेपाल प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीले प्रत्येक वर्ष अश्रुग्यास खरिद गर्नुपर्ने हुन्छ, तर भीड नियन्त्रणकै लागि भनेर २०७४ पछि खरिद गरेको छैन।
विदेशी विशिष्ट पाहुना आएका बखत र केही अन्र्तराष्टिय सम्मेलन भएका बेला सामान्य मात्रमा खरिद गरेको थियो।
भिड नियन्त्रणका लागि सबैभन्दा राम्रो र उपयोगी माध्यम अश्रुग्यास प्रयोग नै हो। तर चार वर्ष यता प्रहरीले भीडभाड नियन्त्रणकै लागि भनेर अश्रुग्यास खरिद गरेको छैन।
‘अश्रुग्यास लगायतका विविध सामाग्रीहरू खरिद गर्न धेरै पटक भनेका छौ तर गृहमन्त्रालयले यो विषयमा चासो दिँदैन, प्रहरी महानिरीक्षकहरू पनि आफू विवादमा पर्ने भएकाले खरिदको काममा हात हाल्न नपाए हुन्थ्यो भन्दै तर्कन खोज्छन यसको कारणले म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्नुपरेको हो’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।
मोतिपुरमा प्रयोग गरिएको अश्रुग्यास रमेश चन्द ठकुरी आइजीपी हुँदा खरिद गरिएको थियो। उनीपछि सात जना आइजीपीले प्रहरी संगठनको नेतृत्व गर्दा पनि त्यतिबेलाकै अश्रुग्यास प्रयोग गर्नु भनेको मानव स्वास्थ्यप्रति नेपाल सरकार र नेपाल प्रहरी जिम्मेवार नभएको पुष्टि हुन्छ।
प्रहरी यसपटक मात्रै होइन पटक पटक म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्दै आएको छ। २०७७ माघ २७ गते जनकपुरमा भएको झडपमा पनि सन २०१० मै म्याद गुज्रेको अश्रुग्यास प्रयोग भएको थियो।
त्यस्तै २०७७ साल असारमा बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका स्थानीयबीच भएको विवादले उत्पन्न भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रयोग गरिएको अश्रुग्यास पनि म्याद गुज्रेको थियो।
प्रहरी स्रोतका अनुसार काठमाडौं बाहिरका प्रायः सबै जिल्ला प्रहरी कार्यालयलमा यस्तै म्याद गुज्रेका अश्रुग्यास रहेका छन्।
अश्रुग्यास आफैंमा घातक रसायन मिश्रित हतियार भएकाले त्यसको प्रयोग नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको थियो तर सरकारले त्यसलाई अटेर गर्दै आएको छ।नागरिक दैनिकमा खबर छ।