देश–देशमा फेरि फर्किंदै कोरोना
काठमाडौं। विश्वमा केही दिनयता कोरोना संक्रमण पुनः बढ्दै गएको छ। बेलायतमा गत बिहीबार पछिल्लो तीन महिनायता पहिलो पटक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। जुलाइ १७ तारिखयताको यो सबैभन्दा उच्च संक्रमण हो।
त्यहाँ थप प्रतिबन्धको माग भइरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनतालाई पालो आउनासाथ बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छन्।
बेलायतमा बिहीबार ५२ हजार ९ जना नयाँ संक्रमित देखिएका छन्। संक्रमण भएको २८ दिनभित्र करिब १ सय १५ जनाको मृत्यु भएको छ।
उच्च संक्रमणका बाबजुद पनि सरकारले आफ्ना योजनालाई पहिलो वर्षभन्दा प्रभावकारी रूपमा अघि बढाइरहेको दाबी गरेको छ। गत जुलाइ १७ मा ५४ हजार ६ सय ७४ संक्रमित थिए।
बेलायतमा लगाइएका प्रतिबन्धमा फुकुवा गरेपछि परिवारहरू एक–आपसमा घुलमिल हुन थाले र आतिथ्य पुनः सुरु भएको धेरै सातापछि यो अवस्था आएको थियो।
चिकित्सकहरूले त्यहाँका मन्त्रीहरूलाई ‘प्लान बी’ को अबलम्बन गर्न आग्रह गर्दैछन्। जसअन्तर्गत सरकारले अनिवार्य मास्क लगाउने र घरबाटै काम गर्ने जस्ता नियमलाई पुनः लागू गर्नुपर्नेछ।
बेलायती प्रधानमन्त्री जोनसनले १२–१५ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो खोप लगाउन आग्रह गरेका छन्।
आपूर्तिको कमी नभएको र ठूलो मात्रामा खोप उपलब्ध भएकाले पनि उनले यस्तो अपिल गरेका हुन्।
खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि आउने अनुमानित ४७ लाख बुस्टर खोप बेलायतमा आइसकेको छ। अन्नपूर्ण पोष्टले लेखेको छ।