कर्णाली प्रदेशमा सरकार परिवर्तनबारे माओवादीबाट धोका नहुने कांग्रेसको दाबी

वीरेन्द्रनगर। कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।

 

 

उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको छ । गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरे ।

 

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला रासससँगको कुराकानीमा शाहीले भने, ‘माओवादीबाट धोका हुँदैन भन्ने विश्वासमा छु ।’

 

 

 

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताएका छन् । ‘सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने,’ उनले भने, ‘अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वाभिकै हो ।

उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।

 

 

 

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको सहयोग लिएका थिए ।

 

 

विश्वासको मत लिँदै गर्दा उनले कांग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताएका हुन् ।