अब कोरोनाविरुद्धको खोप सबै गर्भवतीलाई लगाइने

काठमाडौं। सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ ।

 

 

प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।

 

 

खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ ।

 

 

 

यस्तै आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ ।