नेपालमा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि,थप १ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् ।
नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ भने ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।