जेनिश उप्रेती बने द भ्वाइस किड्स नेपालको पहिलो विजेता
काठमाडौं । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको जेनिश उप्रेती पहिलो विजेता बनेका छन्।चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाउनेमा पहिलो भ्वाइस किड्स नेपालका जेनिश उप्रेती रहेका छन्। विजेता जेनिशले नगद १५ लाख रुपैंया पुरस्कारसहित अन्य पुरस्कार पनि पाएका छन्।
फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । आठ जना प्रतियोगिमध्येबाट दर्शकबाट प्राप्त मतका आधारमा बिजेता घोषणा गरिने छ ।
टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।
डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।
गत कात्तिक २६ गते सुरु भएको कार्यक्रम फाइनल अघि १९ एपिसोड प्रशारण भएको छ । द भ्वाईस किड्सको निर्णायकमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए।