सर्वसाधारण धम्क्याउने नेपाली सेनाका मेजर शाही बर्खास्त
काठमाडौं। मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा नेपाली सेनाका एक जना सेनानी (मेजर) बर्खास्तीमा परेका छन् ।
नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको हो ।
सैनिक ऐन, २०६३ विपरितको गतिविधि गरेकाले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनलाई सेवाबाट हटाउने आदेश भएको सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।
सैनिक ऐनमा जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था छ ।
मादक पदार्थ सेवन गरेर ब्यारेकबाट बाहिर निस्किएका शाहीले २५ असोजमा राति कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरेर धम्क्याएका थिए ।
रावलले उनलाई होटल बन्द भइसकेको भन्दै रोक्न खोजेका थिए तर उनले आफू सेनाको मेजर भएको बताउँदै धम्क्याएका थिए ।
त्यहाँबाट ब्यारेकतिर फर्किएका मेजर शाही निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएका थिए । र, होटल सञ्चालकलाई ठीक पार्ने भन्दै हिँडेका थिए ।
त्यसपछि आक्रोशित भिडले उनी सवार गाडीमा तोडफोड गरेको थियो भने मेजर शाहीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले नियन्त्रणमा लिएको थियो ।
घटनाबारे छानविनका लागि जंगीअड्डाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेर अनुसन्धान थालेको थियो । एक जना महासेनानीको अध्यक्षतामा गठित समितिले छानविन गरेर उनी दोषी रहेको निष्कर्ष निकालेको थियो ।
त्यसको आधारमा सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठिन समरी जनरल सैनिक अदालतले शाहीलाई बर्खास्त गर्ने आदेश सुनाएको स्रोतले बतायो ।